अनुसन्धानकर्ता चन्द भन्छन्,-‘डल्फिन संरक्षणमा राज्यले ध्यान दिनुपर्‍यो’ [अन्तर्वार्ता]

कैलालीमा डल्फिन रमाउँदै !

लोकेश धामी    

अनुसन्धानकर्ता चन्द भन्छन्,-‘डल्फिन संरक्षणमा राज्यले ध्यान दिनुपर्‍यो’ [अन्तर्वार्ता]

                                         
काठमाडौं, भदौ २ । बर्खा लागेसंगै कैलाली स्थित कर्णाली, मोहना, कान्द्रा तथा सहायक नदीहरुमा डल्फिन देखिन थालेका छन् । यसरी बर्खाको समयमा देखिने डल्फिन हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको छ ।

दुर्लभ प्राणी मानिने डल्फिन धेरै पर्यटकका लागि आकर्षण बन्न पुगेको छ । तर, यसको उचित प्रचार-प्रसार र संरक्षण नहुँदा लोप हुन सक्ने खतरा पनि बढ्दै गएको छ ।

यसैबीच, डल्फिन संरक्षणका लागि भएका प्रयास र डल्फिन भएका क्षेत्रको अवस्थाबारे २ वर्षदेखि हालको प्रदेश सातमा वन्यजन्तुको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्मी धिरेन्द्र चन्दसँग कुराकानी गरेका छौं-

हुनत हामीले तपाइँको छोटो परिचय पाठकलाई जानकारी गराइ सकेका छौं । तर, पनि यहाँले नै विस्तृतरुपमा आफ्नो परिचय दिनुपर्दा ?

मेरो जन्म स्थान बैतडी हो । म सानैमा त्यहि हुर्के, मैले माध्यमिक शिक्षा बैतडीबाट नै पूरा गरेको हुँ । तर, पछि म उच्च शिक्षाका लागि कञ्चनपुर आए ।

मैले कञ्चनपुर स्थित सनराईज पब्लिक स्कूलबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरे । र, मैले त्रि.वि. प्राणीशास्त्र केन्द्रिय विभाग किर्तीपुरबाट वाइल्डलाइफ इकोलोजीमा स्नाकोत्तर तह उत्तिण गरेको हुँ ।

हाल म सुर्खेतमा रहेको प्राविधिक विद्यलयमा प्राद्यापकको रुपमा कार्यरत छु । साथै, सुदूरपश्चिममा वन्यजन्तु अनुसन्धानमा पनि सक्रिय छु । हाम्रो बसाई चाहिँ अहिले कैलालीको गोदावरी ५, गेटामा छ । 

केही वर्षयता तपाई डल्फिनको अनुसन्धान तथा यसको संरक्षणमा जुटिरहनु भएको छ, खासमा डल्फिन केहो ?
डल्फिन भन्ने वित्तिकै धेरैमा यो माछा हो भन्ने भ्रम कायम छ । तर, डल्फिन एउटा लोपोन्मुख दुर्लभ स्तनधारी प्राणी हो । यसलाई स्थानीय भाषामा स्वांसु, ससु भन्ने गरिन्छ । यसको बैज्ञानिक नाम प्लाटानिष्टा, गंगेटिका हो । नेपालको संरक्षित बन्यजन्तु सम्बन्धि कानूनले यसलाई संरक्षणको सूचीमा राखेको छ ।

डल्फिनलाई दुर्लभ बन्यजन्तु र बनस्पतीको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धीको अनुसूची १ मा समावेश गरिएको छ । डल्फिन मानिसपछि चेतनशिल र बुद्धिमान प्राणी मानिन्छ ।

यो मत्स्यकार भएकोले पुच्छर पखेटाहरुको सहायताले पौडिने गर्दछ । गोलाकार टाउको हुन्छ । र, डल्फिनको अघिल्लो पट्टी थुतुनो हुन्छ, जुन एक फिटसम्म बाहिर निस्केको हुन्छ । यसको बिचमा सानो आकारको प्वांल हुन्छ । जसको सहायताले केहि क्षणको अन्तरमा स्वास फेर्ने गर्दछ ।

बयस्क पोथी डल्फिन १० महिनाको गर्भधारणपछि बच्चा जन्माउछन्, भने भाले डल्फिनभन्दा पोथी डल्फिनको आकार ठूलो हुन्छ । बयस्क भएपछि यिनीहरुको तौल १०० के.जी.देखि १६० किलोग्रामसम्म हुन्छ । यिनीहरु फिरन्ते स्वभावका भएकोले एक जलक्षेत्रबाट अर्को जलक्षेत्रमा  परिभ्रमण गरि रहन्छन् । 

हाम्रो देशको कुनकुन स्थानमा डल्फिन पाइन्छ ? 
कोशी, नारायणी र कर्णाली नेपालमा डल्फिन पाईने मुख्य नदीमा हुन् । यस्तै, कैलालीको पूर्वी दक्षिण नेपाल भारत सिमावर्ती क्षेत्रमा बग्ने मोहना नदी तथा यसका सहायक पथरैया, काढाँ, कन्द्रा, घुराहा, कटेनी नदीमा पनि बर्षायाम सुरुवात भएसँगै डल्फिनहरु सहज रुपमा देख्न सकिन्छ ।

यी नदीहरुमा अस्थायी रुपमा भएपनि डल्फिनको मनोमहक दृश्य सजिलै देख्न सकिन्छ । यसरी नजिकको दूरीबाट डल्फिनलाई हेर्न पाउनु नेपालीको सौभाग्यको कुरा हो । 

डल्फिनको स्थानीय र राष्टिय स्तरमा के महत्व तथा फाइदा छ ?
डल्फिनहरु प्रकृतिका अनुपम उपहारहरु हुन । यिनीहरुको संरक्षण र सम्बद्र्धन गर्नसके स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महत्व बोक्ने गर्छन । डल्फिन जलमा पाउने एउटा मात्रै स्तनधारी जनावर भएकोले यसलाई बिशेष मान्यता प्रदान गर्दै गंगा नदीको बहानको रुपमा र कृष्ण भगवान्को रुपको रुपमा धार्मिक महत्व बोकेको छ । कैलालीका यी स्थानीय नदीहरुमा डल्फिन हेर्न आन्तरिक र बाह्य पर्यटक प्रर्याप्त भेटिन्छन् ।

विशेष गरि यो ठाउँमा अमेरिका, फ्रान्स, अष्टे«लिया, इंल्याण्ड, जापान, भारतबाट स्वस्फूर्त रुपमा डल्फिन हेर्न आउने गर्दछन् ।

सर्वसाधारणदेखि विद्यार्थी, शिक्षक, प्राध्यापक, राजनीतिज्ञ, राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु विभागका महानिर्देशक, विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरु आउने गरेका छन् । तर, कैलालीका विभिन्न नदीहरुमा देखिने डल्फिल संरक्षणका लागि केन्द्ले खासै चाँसो देखिएको पाइएको छैन ।

अहिलेसम्म डल्फिन संरक्षणका लागि स्थानीय स्तरबाट प्रयास भैरहेको छ । यो क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गरिए राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई भित्र्याई आर्थिक र पर्यटनका लागि प्रचुर सम्भावना छ ।

स्थानीय स्तरमा डल्फिन संरक्षणको लागि के पहल भइरहेको पाउनु भएको छ ? कसले के-के गरेका छन् । 
पर्यटकका आकर्षक केन्द्रविन्दू डल्फिनका बथानहरु कैलालीको मोहना नदी र यसको सहायक नदीहरुमा प्रशस्त पाइन्छन् । यि स्थानीय नदीमा २०५४ सालमा डल्फिन रहेको पत्ता लागेको थियो । अझ भनौं हल्ला सुनिन थालेको थियो ।

बर्षौदेखि यि नदीहरुमा डल्फिनका बथान देखिदै आएपनि तत्कालिन समयमा  शिक्षा र जनचेतनाको कारण यहाँका बासिन्दाले डल्फिनलाई ह्वेल माछा वा बिकासी माछा भन्दै सिकार खेल्ने गरेका थिए । यो जानकारी मैले लामो समयदेखि डल्फिन संरक्षणमा सक्रिय बिजयराज श्रेष्ठबाट लिएको हुँ ।

धेरै व्यक्ति ८३ बर्षदेखि प्रकृतिको जैविक विविधता संरक्षणको क्षेत्रमा कैलालीको विभिन्न जलाधार क्षेत्रमा पाईने डल्फिनलगायत चराचुरुङ्गीको संरक्षणमा निरन्तर सक्रिय छन् । कैलालीका स्थानीय नदीमा डल्फिन रहेको प्रमाणित गर्ने अग्रज व्यक्ति अहिलेसम्म यस (डल्फिन) को संरक्षणका लागि प्रचारप्रसारमा तल्लीन छन् । 

डल्फिनको संरक्षण र प्रचारका लागि ८३ वर्षीय भोजराज श्रेष्ठ गुलेली बाजे ज्यूले डल्फिन संरक्षण केन्द्र नामक संस्थासमेत स्थापना गर्नु भएको छ ।

उहाँ प्रेरणाले गुलेली बाजेको सिंगो परिवार हुदै समुदायका करिब ६० हजार मानिस डल्फिन संरक्षण गर्नुपर्छ भनेर सचेत भएका छन् ।  डल्फिन संरक्षण केन्द्रले १५ बर्षदेखि आफ्ना १४ उपकेन्द्र ३ वटा स्थानीय इको क्लब र १० वटा डल्फिन संरक्षण क्लब बनाएको छ ।

उनीहरुकै सहभागितामा नदी छेउमा बसोबास गरिरहेका समुदायलाई नदीको पानी प्रदूषित नगराउने रासायनिक वस्तु, प्वाष्टिक, मृत जनावर नफ्याक्न र बिषाधी पदार्थ प्रयोग गरि माछा मार्न नदिने जस्ता उपाय सिकाउँदै डल्फिनको संरक्षणमा कार्यक्रम चलाइदै आएका छन् । 

डल्फिन संरक्षणको क्षेत्रमा समुदाय स्तरबाट नै यसको प्रचारप्रसार र संरक्षणका प्रयास थालिएका छन् ।  डल्फिन संरक्षण केन्द्रसँगै तराई भूपरिधी कार्यक्रम, जिल्ला वन कार्यालय, सयुक्त राष्ट्रसंघ, नेपाल जैविक विविधता अनुुसन्धान समाज लगायत पनि यसमा सक्रिया छन् । 

स्थानीय स्तरमा डल्फिनबारे चेतनाको स्तर कस्तो छ ?
स्थानीय स्तरमा डल्फिनबारे प्रचारप्रसार भएको छ । डल्फिन संरक्षण केन्द्रको अगुवाइमा विभिन्न किसिमका डल्फिन सम्बन्धि अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम, संरक्षण सम्बन्धी चेतनमूलक गोष्ठी हुँदै आएका छन् । बिशेष गरि थारु भाषामा गित बनाएर डल्फिनको संरक्षणमा जुटेको धेरै पाए ।

यसरी डल्फिन संरक्षण केन्द्रले विभिन्न ठाउँहरुमा व्यानर, पोस्टर, बोर्ड राखेर डल्फिनबारे जनचेतना जगाउन राम्रो प्रयास गरेको छ । यसको प्रभावकारीता सानासाना बालबालिकामा समेत परेको छ । ३÷४ कक्षा पढ्ने विद्यार्थीमा समेत सजिलैसँग डल्फिनको बारेमा आन्तरिक र बाह्य पर्यटकलाई जानकारी गराउने क्षमता अभिवृद्धी भएको पाएको छु ।  

तपाई पनि केही वर्षयता डल्फिनको संरक्षणमा सक्रिय हुनुहुन्छ, कसको प्रेरणाले डल्फिनको सम्वद्र्धनमा जुटौं भन्ने भावना जागृत भयो ? यो अलि रहस्यमय प्रश्न छ ।

म सुदूरपश्चिममै जन्मे अनि स्नातक तहसम्म यहि क्षेत्रमा अध्ययन गरे । तर, डल्फिन कैलालीको स्थानीय नदीमा पनि पाउँछ भन्ने कुरा काठमाडौंको विश्वविद्यालयमा अध्ययन गर्दा मात्रै थाह भयो ।

 डल्फिनको संरक्षणमा लाग्नुपर्छ भनेर मेरा आदरणिय गुरु प्राध्यापक डा. मुकेश कुमार चालिसे ज्यूले सिकाउनु भएको हो । उहाँले मलाई डल्फिनको बारेमा पर्याप्त जानकारी गराई यसको संरक्षणमा लाग्नुपर्छ भनेर निरन्तर भनि रहनुहुन्छ ।  

यस्तै, कैलाली आएपछि डल्फिन संरक्षण केन्द्रका पदाधिकारीहरुसँग परिचय भएपछि मलाई यसप्रति निरन्तर प्रेरणा तथा हौसला प्रदान गर्नु हुनेमा संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ, बिजयराज श्रेष्ठ, भोजराज ढुङ्गाना, हिरु डगौरा, नरेन्द्र रेग्मीलगायत हुन् । उहाँहरुलाई म धेरै-धेरै धन्यावाद दिन्छु । 

अनुसन्धानकर्ता चन्द चरा संरक्षणकर्मी हिरुलाल डगौरा र पत्रकार अविनाश चौधरीका साथ

अन्त्यमा डल्फिन संरक्षणको लागि तपाइँको सुझाब ?
विश्वमा लोप हुने स्थितीमा पुगिसकेका गंगेटिक प्रजातिका डल्फिनहरु प्रदेश नं. ७ को कैलालीका नदीमा नजिकैबाट देख्न पाईन्छ । यिनको संरक्षणको लागि स्थानीय समुदाय र डल्फिन संरक्षण केन्द्र मात्रै सक्रिय छन् ।

प्रदेश सात प्राकृतिक स्रोतले सबैभन्दा धनी प्रदेश मानिन्छ । यहाँ प्रशस्त मात्रामा पर्यटकीय सम्भावना बोकेका ठाउँ छन् । यसैमध्ये डल्फिन पनि एक हो । स्थानीय नदीमा डल्फिन हेर्नका लागि अहिले पनि पर्यटकको संख्या ठूलो हुन्छ । तर पनि सम्बन्धित निकायको ध्यान भने यो क्षेत्रमा कम छ ।

अतः अहिले प्रदेश, स्थानीय सरकार पनि भएकाले डल्फिनको संरक्षणमा केही सहयोग पुग्ने अपेक्षा लिन सकिन्छ । डल्फिन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारले एक प्रकारको रणनीति तयार पारी यसको थप अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ ।

साथै, यो क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न ढिलाइ गर्नुहुन्न । यदि पर्याप्त प्रचारप्रसार गर्न सक्यौं भने यहाँ पर्यटकको आगमन त वृद्धि हुने नैछ स्थानीयको आर्थिक आम्दानी पनि राम्रो हुने देखिन्छ । 

समय र संवादका लागि तपाइँलाई धेरै धन्यवाद ।
डल्फिनबारे केही कुरा राख्न दिएकोमा बुलबुलनेपाल डट.कमलाई पनि धेरै धन्यवाद,। 

तस्वीर सौजन्यः धिरेन्द्र चन्द र अविनाश चौधरी



शनिबार, ०२ भदौ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस