जापानले सरकारी संयन्त्रबाटै कामदार लैजाने

बुलबुल नेपाल    

जापानले सरकारी संयन्त्रबाटै कामदार लैजाने

काठमाडौं, फागुन २० । सरकारी संयन्त्रबाटै नेपाली कामदार भर्ना गर्न जापान सहमत भएको छ । जापानले पारित गरेको श्रम समझदारीको मस्यौदा नेपाललाई पठाई सरकारी संयन्त्रमार्फत कामदार भर्ना गर्न तयार रहेको जनाएको हो । यो समझदारीलाई जापानले दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) भनेको छ । उसले आउँदो मार्चको अन्तिम साता दुई देशबीच एमओसी गर्न प्रस्ताव राखेको छ ।

 

जुन सचिवस्तरमा हस्ताक्षर हुनेछ । गत जनवरीको दोस्रो साता काठमाडौंमा नेपाल र जापानबीच सम्पन्न उच्चस्तरीय प्रविधिक टोलीको बैठकमा नेपालले कामदार भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुन नहुने प्रस्ताव राखेको थियो । जापानले सरकारी संयन्त्रबाटै कामदार भर्ना गर्ने सहमति जनाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागभित्रै एउटा इकाई राख्ने तयारी गरेको हो ।

 

‘सम्भवतः हामीले कोरिया पठाउने मोडलअनुसार नै प्रक्रिया अगाडि बढाउनेछौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने । जापानले आफ्नो देशको नागरिकले पाउने न्यूनतम तलबसरह नै विदेशी कामदारलाई दिने जनाएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार कामदारलाई प्रतिघण्टा घटीमा ६ सय ७३ देखि बढीमा ८ सय ७४ जापानी येन (हालको विनिमय दरअनुसार ९ सय ७८ रुपैयाँ) सम्म पाइरहेका छन् । न्यूनतम तलब क्षेत्रअनुसार पनि फरक हुन्छ । राम्रा कम्पनीहरूले योभन्दा पनि बढी पारिश्रमिक दिँदै आएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
 



सोमबार, २० फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...