कमलले ५ बलमा ५ छक्का प्रहार गरेको खेलमा नेपालको शानदार जित

बुलबुल नेपाल    

कमलले ५ बलमा ५ छक्का प्रहार गरेको खेलमा नेपालको शानदार जित

काठमाडौं, चैत ६ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा विजयी भएको छ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँग भएको पहिलो खेलमा नेपाल ६२ रनले विजयी भएको हो ।

 

नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रन मात्र बनाउन सक्यो । भारतका हर्षभर्धनले ४६, हेमन्थ रेडीले ३८, पी तेजसवाईले ४३ रनको योगदान दिए । बलिङमा नेपालका कुशल मल्लले ४, कमलसिंह ऐरीले ३, पवन श्राफले २ र सागर ढकालले १ विकेट लिन सफल भए ।

 

यसअघि, पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

 

बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । भारतको आन्द्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।



बुधबार, ०६ चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...