सबै विद्यालयमा नेपाली विषय पनि पढाई हुनुपर्छः शिक्षा मन्त्री

बुलबुल नेपाल    

सबै विद्यालयमा नेपाली विषय पनि पढाई हुनुपर्छः शिक्षा मन्त्री

झापा, वैशाख २९ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पारे ।

 

आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याए । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उनले भने, “सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’

 

देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उनले दोहोर्याए । ‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ, अब त्यसको अन्त्य गर्नुपर्छ’ उनले भने, ‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाई हुनुपर्छ ।’

 

अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भने, ‘अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उनले प्रतिप्रश्न गरे । मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताए ।



आइतबार, २९ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...