विश्वकपः वेस्ट इन्डिजविरुद्ध बंगलादेशको ऐतिहासिक जीत

बुलबुल नेपाल    

विश्वकपः वेस्ट इन्डिजविरुद्ध बंगलादेशको ऐतिहासिक जीत

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा बंगलादेशले पहिलो पटक वेस्ट इन्डिजलाई हराउन सफल भएकाे हाे । 

 

३२२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि शाकिव अल हसनले शतक बनाए । उनी १६ चौकाको मद्दतमा ९९ बलमा १२४ रनमा नट आउट रहे । यस्तै लिटन दास ४ छक्का र ८ चौकाको सहयोगमा ६९ बलमा ९४ रन बनाएर अविजीत रहे । यस्तै, तमिम इग्बालले ४८, सौम्य सरकारले २९, मुस्फिकुर रहिमले १ रनको योगदान दिए ।

 

बलिङमा वेस्ट इन्डिजका ओसेन थोमस र आन्द्रे रसेलले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए ।

 

इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावोले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए ।  



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...