आफैले अनुमोदन गरेको निर्णयविरुद्ध प्रदेश अध्यक्षले नै गुटको भेला बोलाएपछि...

बुलबुल नेपाल    

आफैले अनुमोदन गरेको निर्णयविरुद्ध प्रदेश अध्यक्षले नै गुटको भेला बोलाएपछि...

कञ्चनपुरः पार्टीभित्र एकतालाई बलियो बनाउँदै सुदृढ संगठन निर्माण गर्ने काम नेतृत्वको हुन्छ । तर प्रदेशको नेतृत्व लिइरहेका व्यक्ति नै गुटबन्दीमा लागेपछि के होला ? अहिले त्यस्तै भएको छ सुदूरपश्चिम प्रदेशमा । सुदूरपश्चिम प्रदेशका केही जिल्लामा जिल्ला कमिटि घोषणा हुँदा असन्तुष्ट बनेकाहरुसँग पार्टीका प्रदेश अध्यक्ष कर्ण थापाले बेग्लै भेला बोलाएर छलफल गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कञ्चनपुर जिल्लामा पूर्व माओवादी केन्द्रभित्रका केही असन्तुष्ट नेता तथा कार्यकर्तालाई पार्टी अध्यक्ष केपी ओली निकट मानिने प्रदेश अध्यक्ष कर्ण थापाले उचाल्न खोजेको भन्दै आलोचना शुरु भएको छ । प्रदेश अध्यक्ष थापाले मंगलबारका दिन कञ्चनपुरमा भेला डाकेका थिए । जिल्ला पार्टीले सर्वसम्मतले तयार गरी प्रदेश कार्यालयबाट पारित भएर शपथ ग्रहणसँगै जिल्ला कमिटि निर्माण भएको थियो ।

सपथ ग्रहण समारोहमा थापा आफै उपस्थित रहेका थिए । तर सपथ लिन नपाएका केही नेताहरुले असन्तुष्टि व्यक्त गरेपछि आफैले अनुमोदन गरेको निर्णय विरुद्ध अध्यक्ष थापाले भेला डाकेका हुन । गुटबन्दी अन्त्य गर्नुको साटो गुटलाई प्रश्रय दिने र पार्टी कमिटिको निर्णय विपरित अराजक ढंगले अघि बढन खोजने नेताहरुलाई थापाले संरक्षण दिएपछि उनीमाथि समेत अनुशासनको कार्वाही हुनुपर्ने कतिपयले बताएका छन् ।

 

पार्टी संगठन नियम र पद्धतीमा अघि बढनुपर्ने र असन्तुष्टि भएपनि त्यो कमिटिगत छलफलको विषय बन्नुपर्ने भएपनि प्रदेश कार्यालय या प्रदेश कमिटिमा छलफल नै नभई र प्रदेश इन्चार्ज भीम रावलसँग समेत कुनै समन्वय नगरी समानान्तर भेला डाक्ने थापाको कामलाई अनुशासनविहिन हर्कत भन्दै कार्वाहीको माग गरिएको हो । भेलामा पूर्व माओवादी समूहका नेता तथा ओली निकट मानिने जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

भेलामा भीमदत्तनगरपालिका प्रमुख तथा यसअघि नेकपा एमालेका जिल्ला सचिव सुरेन्द्र विष्टको समेत उपस्थिति रहेको थियो । विष्ट प्रदेश कमिटि सदस्य पनि हुन । विष्टको उपस्थितिलाई समेत धेरैले अर्थपूर्णरुपमा हेरेका छन् । थापाले गुटबन्दी गरेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि गत वर्ष पार्टी एकीकरणको निर्णय भएपछि प्रदेश कमिटि निर्माणको गृहकार्य चलेको बेला पूर्व माओवादीका असन्तुष्ट नेताहरुलाई समानान्तर भेला बोलाउन निर्देशन दिएका थिए । पूर्व माओवादी समूहभित्रका केही अराजक र अनुशासन नमान्ने नेताहरुले आफू प्रदेश कमिटिमा नपरेको भन्दै त्यतिबेला समानान्तर भेला गरेका थिए ।

 

अहिले जिल्ला कमिटिमा पनि केही व्यक्ति नपरेको भन्दै उनीहरुले थापाको साथ खोजेको देखिन्छ । राजनीतिक विषयलाई राजनीतिक परिपाटी र पद्धतीका आधारमा हल गर्नुपर्ने, कमिटिको निर्णय पर्खिनुपर्ने, कमिटिमा छलफल गरिनुपर्ने भएपनि थापाले एकलरुपमा आफैले अनुमोदन गरेको कमिटिविरुद्ध यसरी हिँडनुले पार्टीमा एकता भन्दा गुटले नै विकास गर्ने कार्यकर्ताको ठम्याई देखिन्छ । कोही छुटेको भए त्यससम्बन्धीको असन्तुष्टिबारे छलफल गर्न प्रदेश पार्टी सचिवालय या कार्यालय या कमिटिको बैठकमा एजेण्डा ल्याउनु पर्ने थापाको दायित्व हो । तर थापाले भने यसो नगरी भेला बोलाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ओली समूहको कमजोर उपस्थिति रहेकोले पूर्व माओवादीका केही असन्तुष्ट व्यक्तिहरुलाई आफूसँग जोडेर बलियो बन्ने रणनीति थापाको रहेको समेत कतिपयको आँकलन छ । तर विधि र पद्धती मिचेर गुटबन्दीको सहाराले पार्टीमा बलियो स्थान बन्नुको साटो अराजकता निम्तिने चिन्ता नेता तथा कार्यकर्ताले गरेका छन् ।



बुधबार, ०४ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...