हशिम अमलाले तोडे डी विलियर्सको कीर्तिमान

बुलबुल नेपाल    

हशिम अमलाले तोडे डी विलियर्सको कीर्तिमान

काठमाडौंः दक्षिण अफ्रिका क्रिकेट टिमका ओपनर हशिम अमलाले नयाँ ऐतिहासिक उपलब्धी हासिल गरेका छन् । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा २५ (जम्मा–५५) रन बनाएसँगै उनले नयाँ उपलब्धि हासिल गरेका हुन् । अमलाले आज वान डे क्रिकेटमा ८ हजार रन पूरा गरेका हुन् ।

 

सर्बाधिक छिटो ८ हजार रन पूरा गर्ने उनी दोस्रो खेलाडी बन्न सफल भए । अमलाले १७६ पारीमा ८ हजार रन पूरा गर्न सफल भएका हुन् । यो उपलब्धिसँगै उनले १८२ पारीमा ८ हजार रन पूरा गर्ने एबी डि विलियर्सको रेकर्डसमेत तोडेका छन् । वान डे क्रिकेटमा सर्बाधिक छिटो ८ हजार रन बनाउने रकेर्ड भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा छ । उनले १७५ पारीमा ८ हजार रन बनाएका थिए । 

 

न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य
टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारित ४९ ओभरमा ५ विकेट गुमाएर २४१ रन बनायो । उसका लागि रस्सि भान डर दुसेनले नट आउट ६७, हशिम अमलाले ५५, एडन मार्कमले ३८, डेभिड मिलरले ३६, कप्तान फाफ डुप्लेसीसीले २३, क्विन्टन डि ककले ५ र क्रिस मोरिसले नट आउट ६ रन बनाए । बलिङमा लकि फग्र्युसनले ३, मिचेल सान्टर, कोलिन डि ग्राण्डहोम र ट्रेन्ट बोल्टले एकएक विकेट लिए । वर्षाका कारण ढिलो गरि टस भएको खेल ४९ ओभरमा झारिएको छ । दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ ।

  

गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ । 
 



बुधबार, ०४ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...