विश्वकपः मिचेल स्टार्कको नयाँ कीर्तिमान, तोडियो कसको रेकर्ड?

एजेन्सी    

विश्वकपः मिचेल स्टार्कको नयाँ कीर्तिमान, तोडियो कसको रेकर्ड?

काठमाडौंः अष्ट्रेलिया क्रिकेट टिमका तिव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसीय विश्वकप २०१९ मा नयाँ कीर्तिमान बनाएका छन् । उनले बिहीबार इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोलाई एल्बीडब्लू आउट गरेसँगै एकैविश्वकपमा सर्बाधिक विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।

 

बायाँ हाते बलर स्टार्कले यो विश्वकपमा सबैभन्दा धेरै २७ विकेट लिए । उनले यो उपलब्धि हासिल गरेसँगै अष्ट्रेलियाका पूर्व तेज बलर ग्लेन म्याग्रा (२६ विकेट) लाई पछि पारेका छन् । म्याग्राले २००७ को विश्वकपमा सर्बाधिक २६ विकेट लिएका थिए । 

 

२७ वर्षपछि इंग्ल्याण्ड फाइनल
इंग्ल्याण्ड २७ वर्षपछि १२औं संस्करणको एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोसन रोयले ५ छक्का र ९ चौकाको मद्दतमा ६५ बलमा ८५ रन बनाए ।

 

जारी विश्वकपमा उनको यो चौथो अर्धशतक हो । साथै यो विश्वकपमा रोयले एक शतकसमेत बनाइसकेका छन् । यस्तै जोनी बेरिस्टोले ३४, जो रुटले (अविजित) ४९ र इओन मोर्गनले नट आउट ४५ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले एक–एक विकेट लिए । अब इंग्ल्याण्डले उपाधिका लागि १४ जूलाईमा न्यूजिल्याण्डसँग खेल्ने छ । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि स्टिभ स्मिथले सर्बाधिक ८४ रनको योगदान दिए ।  यस्तै एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२, डेभिड वार्नरले ९ पिटर ह्यान्सकम्बले ४, प्याट कमिन्सले ६ र नाथन लायनले ६ रन बनाए । कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले खाता नै खोल्न पाएनन् । बलिङमा क्रिस ओक्स, आदिल रशिदले तीनतीन, जोफ्रा आर्चरले २ र मार्क उडले एक विकेट लिए ।  

 

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

 

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड । 
  



शुक्रबार, २७ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...