गाउँलेहरु [कविता]

गज्जब कविता !

लोक राज भट्ट    

गाउँलेहरु [कविता]

याद छ
गरिब सँग लत्ता हुदैनन
तर गरिबका बच्चाहरुसँग
लत्ता भन्दा धेरै सपनाहरु हुन्छन

 

बारीमा चोर पस्यो भनेर
कहिलेकाही बजै कराउथिन्
म भन्थेँ ‘बच्चाहरुले बिठ्याइ गरिरहेछन्
उनिहरु चोर होइनन्
चोर त नदेखिने गरी आउछन्
नदेखिने गरी जान्छन्
चोरेर पनि मायालु आँखाहरुले कहिल्यै हेर्दैनन्

 

गाउँमा कोलाहल भयो भने
आमाले भन्थिन्
‘भाडाँहरु ठोक्कीए
हिड एकताको अलमारीमा मिलाएर राखीदीऊँ
कहिल्यै नढल्नेगरी’
म भन्थे आलमारिमा मिलाएका भाँडाहरु कहिल्यैकाही
ठोक्कीहाल्छन ढलिहाल्छन
हामीले त
फुट्न दिनु हुन्न टुट्न दिनु हुन्न

 

कसैको आँगनबाट भोक करायो भने बाले भन्थे
‘भोक त बाँडेर पनी हलुको पार्न सकिन्छ
आफ्नाको रमिता हेर्नु हुदैन
खुसीमा उल्लास बढाइदिने
एक हुल मान्छहरु यिनै त हुन’
मैले भन्थे भोक मात्रै कहाँ हो र
सिप पनि बाँड्नु पर्छ
तब पो भोक धपाउन सजिलो हुन्छ
उल्लासमा रौनक थपिन्छ

 

कहिलेकही झर्कीरहन्थे
कहिलेकाही रिसाई रहन्थे
कहिलेकाही चुपचाप अपनत्व देखाउँथे

 

तब मैले सिकेको हुँ
कसैको घरमा दैलो उघ्रिएन
अगेनामा आगो धुकाएन
गाइ बस्तु कराउनथाले
या त भैपरीमा बिमारी छटपटायो भने
स्टेचर उठाएर अस्पताल दौडिहाल्नु पर्छ

 

रिस गरेर पनी प्रेम गर्न जान्ने
आफुलाइ पर्दा आँगनमा काँध थाप्न आउने
जिउँदाका जन्ती र मर्दाका मलामी
हाम्रा आफ्ना भनेका अरु कोही नभएर
गाउँलेहरु हुन ।

-लोकराज भट्ट



शनिबार, ०३ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...