साहरा [कविता]

दमदार कविता !

लोक राज भट्ट    

साहरा [कविता]

साहरा

जिन्दगीनै कालो भएपछी
अंगारलाई कोट्याएर 
किन टोपलिन्छेस अगेनाको छेउमा ?
अझै छ हामीसँग सोच्ने समय
ढुंग्रोभरी फोक्सो हुलेर बेस्सरी फुक
आगो भरभराउँछकी 
फुक बुढी फुक सकन्जेल फुक 
छोरो आउँछकी 

 

यै आगो हो शूर्यले आकाश छोडेर गएपछी
हामिसँग रहने जाडोको दवाई
त्यसैले निभ्न नदे आगोलाई
शूर्य त भोली मात्रै आउने छ
लाटो घर भित्र चलमलाइ रहने
एक जोडी मान्छेको पिडा थाहा छैन उस्लाई

 

रहन त के रहला र अब
यस बर्ष फूलेन घरबारीको आरु
पलाएनन् पातहरु, सुकिसके हाँगाहरु
सायद बैराग लागे जस्तो छ जरालाई
अन्तै बसाइ सर्ने 
बन्दोबस्त गरेहोलान तिनिहरुले पनि

 

भएको कम्पनीमाला बेचियो भनेर चित्त नदुखा
हुन त जवानीमा पनि के नै दिएको थिएँ र
फाटै लाएर भएपनि गुजारेकै हौँ दिन

 

भोकै मर्दैनौ
गाउँमा मलामीहरु कोही छैनन्
मलामी पाउन पनि ठिक समय सोच्नुपर्छ 
एक मुठी चामलमा सिस्नो मिस्याउँला
जाउलो पकाउँला 
गरिबी धपाउँला
फुक बुढी फुक
ढुंग्रभरी फोक्सो हुलेर बेस्सरी फुक
छोरो भनेपनि आगो भनेपनि 
यही हो हाम्रो साहरा ।
-लोकराज भट्ट

यो पनि पढ्नुस्-

-गाउँलेहरु [कविता]



आइतबार, ०२ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...