टंके दाईको कुकुर ! [कविता]

लोक राज भट्ट    

टंके दाईको कुकुर ! [कविता]

आँगनको डिलमा बसेर 
कोही टोलायो भने 
की टंके दाई टोलाउँछ
की टंके दाईको कुकुर टोलाउँछ

 

तिर्न नसकेको दोकानको उदारो
चिया नपिएको बिहान
पुराना थोत्रिएका जुत्ता
बर्षौ सम्म नयाँ चोलो नदेखेकी
उस्की जहान
चौगुना बढ्दै गएको महंगी 
टंके टोलाउनुको कारण 
 सबैले अनुमान लगाउछन् 
तर  किन टोलाउँछ टंकेदाईको कुकुर
कसैले वास्ता गर्दैनन् ।

 

सानो छँदा 
कुकुर जस्लाई देखेपनि
र्‍याङ–र्‍याङ  गरी कराउँथ्यो
नजिकको सम्झयो भने
पुच्छर हल्लाउँथ्यो
अचेल बद्लिएछ 
 देख्यो की चिनीहाल्छ
भुक्नै परेपछी मात्र भुक्छ

 

धेरै भैसक्यो
अनेकथरी सोच्न थालेको
टंके दाई सँग आगनमा बसेर 
मान्छेहरुलाई हेर्न थालेको 

कुलो बनाउन पुग्थ्यो
बाटा र गोरेटाहरु बनाउँनजादा
सँगै हुन्थ्यो
कोही बिरामी परेपछी 
अस्पताल हिड्थ्यो
एती सम्मकी 
जिन्दाबाद भनिरहेको
चुनाबी जुलुसमा समेत सामेल हुन्थ्यो ।

 

उदास भएछ यसपाली
दुखपर्दा उभिन्थ्यो सबैको आँगनमा 
खुसीमा रमाउन टुपुलुक्क देखिन्थ्यो 
कसैको बिहे भयो की बर्‍याती जान्थ्यो
जीबजन्तुबाट खेतबारी बचाउन
घामपानी नभनी दौडिन्थ्यो
चनाखो भएर रातभरी पहरा दिन्थ्यो 
कोही मरेपछी मलामी गएर
घाटमा सबै स्तब्ध भएको बेला
छेउमै बेसेर कुईकुई रुन्थ्यो । 

 

कुकुर त हो भनेर 
मतलब गरेनन् कसैंले
सकुन्जेल गइरह्यो सबैतिर

टंकेदाईका गाला चाउरिन थाले देखी
उस्का पनि सुरु भएछन दुव्लाउने दिनहरु
टंके दाई कुप्रिन थालेपछी 
गल्दै गएछन उस्का खुट्टाहरु

 

आँखिर गरिबको घरमा 
जीन्दगी बिताउनु भनेको
मर्ने बेलामा
दुब्लाउनु र झोक्राउनु रहेछ
गल्नु र टोलाउनु रहेछ
अझै पनि अथाह प्रेम छ मान्छे सँग 

उस्को धर्म हो इमान्दारीता निभाउने
प्रेम छ भन्दैमा सबै सामु हल्लाउदैन पुच्छर
झोक्राएरै भएपनि 
टोलाएरै भएपनि
संकाको साइरन बजाई रहन्छ
पहिला पहिला गाउँमा
चोरहरु आएपछी मात्रै भुक्ने 
टंके दाईको कुकुर
अचेल नेताहरु आएपनि भुक्छ । 

तस्वीरः निरोज महर्जन

यी पनि पढ्नुहोस्-

-सम्भावनाको सहरमा साहित्यको सुगन्ध

-गाउँलेहरु [कविता]

-साहरा [कविता]

-बाल मजदुर [कविता]

 



सोमबार, १० मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...