दारी ग्याङ धनगढीका संयोजक बोहरा भन्छन्,- ‘दाह्री देखेर मान्छेको बयान गर्नु गलत हो’[अन्तर्वार्ता]

लोकेश धामी    

दारी ग्याङ धनगढीका संयोजक बोहरा भन्छन्,- ‘दाह्री देखेर मान्छेको बयान गर्नु गलत हो’[अन्तर्वार्ता]

काठमाडौं, साउन २८ । सामाजिक सञ्जालमा फरक-फरक समूह तथा पेजहरु भेटिन्छन् । धेरै ग्रुप तथा पेजहरु रमाइलोका लागि खोलिएका भेटिन्छन् । अर्थात् कुनै उद्देश्य नै नबोकेका ! तर, केहि ग्रुप र पेजहरु भने विभिन्न उद्देश्य राखेर खोलिएका भेटिन्छन् । यस मध्येको एक हो  ‘दारी ग्याङ’ !

सुन्दा अलि अचम्म खालको ‘दारी ग्याङ’ एक फेसबुक ग्रुप हो । अहिले सामाजिक सञ्जालमा यसको व्यापक चर्चा छ । यसले गरेका गतिविधिले नै ‘दारी ग्याङ’को चर्चा हुने गरेको हो ।

यो समूहले गरेका रचनात्मक कार्य धेरैका युवाका लागि प्रेरणाका स्रोत हुन सक्छन् । प्रविधिको सदूपयोग गर्दै बनाएको यो एक सामाजिक अभियानबारे ‘दारी ग्याङ’धनगढीका संयोजक दिनेश बोहरासँग सक्षिप्त कुराकानी गरेका छौंः

‘दारी ग्याङ’ कस्तो समूह तथा अभियान हो ?
‘दारी ग्याङ’ एउटा फेसबुक समूह हो । अझ भनौं युवा बढी भएको समूह! यो समूहमार्फत विभिन्न अभियानहरु च्लिरहेका छन् । समाजका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खेलकुद तथा विकास पूर्वाधारका क्षेत्रमा ‘दारी ग्याङ’ले जनचेतनामूलक एवम् ज्ञानवद्र्धक अभियान चलाइरहेको छ । 

यो समूहमा कस्ता व्यक्तिले जोडिन पाउँछन् ?
‘दारी ग्याङ’ दारी पाल्ने अथवा दारीप्रेमीहरुको समूह हो । यसमार्फत विभिन्न सामाजिक काम गर्ने भएकाले आम मानिस तथा सर्वसाधारणले हाम्रो समूहमा जोडिन सक्छन् । किनभने, सामाजिक काम गर्न कुनै उमेर, जात, लिङग, समूहलाई रोकटोक छैन । 

यो समूहमा दाह्री पालेकाले मात्र जोडिन पाउँछन् कि अरुले नि ?
‘दारी ग्याङ’ कुनै व्यक्ति तथा समूहका विचार अथवा उसले जाने बुझेका कुराहरु समाजसम्म पुगाउने एउटा माध्यम हो । त्यसकारण यो समूहमा समाजका विभिन्न क्षेत्रमा सेवा गर्ने भावना भएकाले जोडिन सक्नुहुन्छ । र, त्यस्तै सोच भएका व्यक्तिको साझा समूह दारी ग्याङ हो ।

यो समूहमा धेरै व्यक्ति संग्लन छन् । जसले गर्दा केही काम गरौं भने पनि सजिलो छ । यसकारण, यो समूहमा जोडिदा खुलेर समाज सेवामा लाग्न सकिन्छ । ‘दारी ग्याङ’को पहिचान समाज सेवा भएकाले दारी भएका नभएका सबैले यो समूहमा जोडीन पाउनुहुन्छ ।

कसरी जोडीन सकिन्छ यो ग्रुपमा ?
‘दारी ग्याङ’ फेसबुक ग्रुप भएकाले सबैभन्दा पहिले फेसबुकमा ‘दारी ग्याङ’ लेखेर सर्च गरी ‘जोइन रिक्वीस्ट’ पठाउनु पर्छ । ‘जोइन रिक्वीस्ट’ पठाउँदा समूहले २ प्रश्न सोध्ने गर्छ, त्यसको जवाफ दिएको खण्डमा ग्रुपका ‘एडमीन’ले ‘एप्प्रुप’ गरेपछि तपाई यो समूहमा जोडीन सक्नुहुन्छ ।

यदि तपाइले पठाएको उत्तर चित्त बुझ्दो भएन भने ‘एडमीन’ले ‘एप्प्रुप’ गर्दैन । साथै, ‘दारी ग्याङ’मा जोडीने व्यक्तिको फेसबुक आइडी नक्कली हुनु भएन । 

प्रदेश नं. सातबाट ‘दारी ग्याङ’मा कति सदस्य आवद्ध छन् ?
प्रदेश सातमा ‘दारी ग्याङ’मा ठ्याक्कै कति जना संग्लन छन् भनेर भन्न गाह्रो छ । किनकी अहिलेसम्म त्यसरी ‘डाटा’ नराखेकाकारण तथ्यांक भन्न गाह्रो भएको हो ।

आंकलन गर्ने हो भने यो प्रदेशबाट पनि ‘दारी ग्याङ’मा धेरै व्यक्ति सहभागी हुनुहुन्छ । यस्तै, सक्रिय भएर लागेका चाहिँ यो प्रदेशमा कैलाली र कञ्चनपुरका साथीहरु हुनुहुन्छ । हामीहरुले नियमित भेला तथा कार्यक्रम पनि आयोजना गर्छौं । जसमा साथीहरुको उल्लेखनीय सहभागीता रहन्छ । संख्याको हिसाबले भन्ने हो भने कार्यक्रममा एक  जिल्लाबाट १५ देेेेखि २५ जनासम्म सक्रिय सदस्यको उपस्थिती रहन्छ । 

‘दारी ग्याङ’ले कस्ता क्षेत्रलाई प्राथमिकता राखेर काम गर्छ ?
‘दारी ग्याङ’ले  शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार, विज्ञान तथा अन्य क्षेत्रमा जनचेतामूलक कार्यक्रमका साथैं असाध्यै कमजोर आर्थिक हैसियत भएकालाई सहयोग तथा आपतविपत् परेका बेला उद्धारका काम गर्ने गर्छ ।

यस्तै, भन्नै छुटाउन नहुने कुरा ‘ध्रुमुस सुन्तली फाउन्डेसन’ले गरेका विभिन्न गतिविधिमा हाम्रो समूहको पनि सहयोग छ । फाउन्डेसनले निर्माण गरेको भूकम्प पीडितको नमूना बस्ती बनाउनमा ‘दारी ग्याङ’को सहयोग छ । 

साथै, भूकम्प प्रभावित, बाढीपहिरो पीडितलाई पनि हाम्रो समूहले राहत वितरण गरेको छ, गरिरहेका छौं, गर्नेछौं । यस्तै, ‘रोबर्टब्याटल’ गरेर दारी ग्याङले विज्ञान अभियान पनि चलाएको छ । यो अभियानलाई अझैं देशव्यापी बनाउने ‘दारी ग्याङ’ले कार्य सूचि बनाएको छ ।  

तपाई ‘दारी ग्याङ’को धनगढी संयोजक हुनुहुन्छ, यहाँको नेतृत्वमा गरेका काम के-के छन् ? 
मैले नेतृत्व गरेको टिम ‘दारी ग्याङ’ धनगढी हो । ‘दारी ग्याङ’ धनगढीले आकस्मिक रक्तदान गर्दै आएको छ । ताजा रगतका लागि ‘दारी ग्याङ’ले बनाएको ‘ब्लड बेस डोनर’को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अस्पतालहरुसँग मिलेर कार्यक्रम गरेका छौं । प्रत्येक वर्षको वार्षिकोत्सवमा अनाथआश्रममा गएर शैक्षीक तथा खेलकुद सामग्री सहयोग गरेका छौं । 

हरेक वर्षमा आश्रममा रहेका बालबालिकाहरुसँग केक काटेर वार्षिकोत्सव मनाउने गरेका छौं । यस्तै, सरसफाई अभियान तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम लम्की, अत्तरिया र धनगढीमा गरेका छौं । साथैं, समाजमा रहेका विभिन्न प्रकारका कुरितीविरुद्ध विरुद्ध सामाजिक अभियान शुरु गरेका छौं । 

लामो दाह्री पाल्नुभएको छ, काट्नु पर्यो भनेर कत्तिको दबाब आउँछ ?
दारी पाल्न शुरु गरेका दिनहरुमा चर्को दबाब आएको थियो । घरपरिवारनले विस्तारै ‘दारी ग्याङ’का सकारात्मक गतिविधि थाह पाउन थालेपछि अहिले त्यसबेला जति दबाब आउँदैन । 

देशभरबाट ‘दारी ग्याङ’मा कति सदस्य आवद्ध छन् ?
‘दारी ग्याङ’ स्वदेश तथा विदेशमा सक्रिय छ । फेसबुक समूहमा करीव एकलाख ४ हजार सदस्य रहेका छन् । 

‘दारी ग्याङ’मा महिला पनि आवद्ध छन् कि पुरुष मात्रै ?
‘दारी ग्याङ’को फेसबुक ग्रुपमा पुरुष छन् । तर, फेसबुक पेजमा महिलाहरु नि  छन् । हाम्रो समूह (दारी ग्याङ)ले नेपालका धेरै ठाउँमा गरिरहने कार्यक्रममा महिला सहभागीता उल्लेखनीय पाउने गरेका छौं । 

तपाइँका आगामी योजना के छन् ?
आगामी दिनमा ‘युवा मोटिभेसनल’ कार्यक्रम गरेर विभिन्न ठाउँमा हामीजस्तै युवालाई यस क्षेत्रमा लाग्ने वातावरण बनाउँने योजनामा छौं । यसअलवा समाजलाई आवश्यक पर्ने विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्र्तता दिनेछौं । 

‘दारी ग्याङ’का कति ‘एडमीन’ र ‘मोडीएटर’ छन् ?
दारी ग्याङमा अहिले १९ वटा ‘एडमीन’ तथा ‘मोडीएटर’ रहेका छन् । देशका विभिन्न क्षेत्रबाट सक्रिय हुनुहुन्छ । म चाहिँ प्रदेश सातबाट प्रतिनिधित्व गर्छु । 

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा अन्त्यमा के भन्छु भने, ‘दारी ग्याङ’ एउटा सोच र अवसर हो । दारी पाल्दैमा खराब कोही हुँदैन । अझै स्पष्ट भनौं चित्र हेरेर चरित्रको बयान गर्नु गलत हो, त्यसको उदाहरण हो-दारी ग्याङ ! र, ‘दारी ग्याङ’बारे केही कुरा राख्न दिनुभएकोमा ‘बुलबुल नेपाल डटकम’लाई धेरै-धेरै धन्यवाद । 


 



सोमबार, २८ साउन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस