जुम्राहरुको तमासा ! [कविता]

दमदार कविता

लोक राज भट्ट    

जुम्राहरुको तमासा ! [कविता]

जुम्राहरुको तमासा

बिताउनु भनेको एउटै रहेनछ
रात त आकाशमा उड्ने 
चरीले पनि बिताउँछ
र बिताएउँछ चिलगाडीमा उड्ने 
मान्छेले पनि
के कुरा गर्नु रातको
क्यामफायर ताप्दै
हनिमुनमा छिल्लीने जोडीले पनि
बिताउदा रहेछन् रात
अनि बिताउनेै पर्छ भनेर 
बिताइदिदो रहेछ जुम्रेले पनि

 

कहिलेकाही लाग्छ जुम्रा मोटाएर
जुम्राकै शरिरमा जुम्रा परेका हुँदाहुन्
जुम्रे गुनासो गर्दैन जुम्रा सँग
नत जुम्रे जुम्रालाइ धपाउन तम्सिन्छ
भन्छ कस्ले कस्लाइ खाएन र यहाँ
देशै खानेहरुपनि छन् !!!
लुछ्न दिनु पर्छ जुम्राहरुलाई पनि

 

जब स्यालले सिनो उठाएझै
जम्रेलाई जुम्राले उठाउन खोज्छन
तब  दुइ नङ्ग्राको बिचमा प्याच्च पार्छ
दाराको नङकाटो बनाउदै 
आफ्नै नङ चपाएर थुक्छ
जुम्रे घिन हो त ?
हैन 
घिन  त जुम्राहरु सँग छ
जस्ले जुम्रे र देशको 
रगत निकालेर कुहाएका छन् 
पिप निकालेर चपाएका छन् 

 

कतै सडकमा कालो दाग देखियो भने
उस्लाइ प्रवाह हुदैन मान्छेको
भन्छ  ‘सु गर्नेलाई भन्दा देख्नेलाइ लाज’
र पखाली दिन्छ कालो दाग
जम्रे लाज हो त ? 
हैन 
लाज त जुम्राहरु सँग छ
जस्ले  देश र जुम्रेलाई 
सडकबाटै नांगो नाच देखाइरहेका छन्

 

पागल भनुन या बहुला भन्नेले जे भनुन्
चाउचाउका काटुनहरु बटुलेर
बराण्डालाई खटिया बनाउदै
जब जाडोलाई 
मुठ्ठीमा अठ्याएर निदाउँछ
थरर काँपेर दुनिया भरीको जाडो
उसैको न्यानोमा शरण लिन पुग्छ
जुम्रे अभाब हो त ?
हैन 
अभाब त जम्राहरु सँग छ
जस्ले  देश र जम्रेलाई 
कंगाल बनाउदापनि निदाउन सकेनन्

 

भन्छ ‘बाँच्नु भनेको अघाउनु पनि हो’
ऊ अघाउनकै लागी
परिस्थितीका बोक्राहरु चपाउँछ
परिस्थितीलाई बैशको अंगालोमा बेरेर चुम्बन गर्छ
जुठोमा लटपटिएका हातका औलाहरु 
एक एक गरी चाट्छ
जुम्रे भोक हो  त ? 
हैन 
भोक त जुम्राहरु सँग छ
जस्ले देश र जम्रेलाई
बराबर खाइरहँदा पनि अघाइरहेका छैनन् 

 

यस्ता जुम्राहरुले
मासु मात्रै सकेका होईनन् 
मान्छेको मथिङ्गल समेत भ्रामक बनाईसके

गाउँमा पुरानो उखान सुनिन्छ
मान्छेका शरिरमा जुम्रा पर्नु भनेको 
साह्रै अशुभ हुनु हो 
यहाँ त 
जुम्रै जुम्राले हामी मात्रै घेरिएनौ
देशनै जुम्राहरुले घेरिसकेछ 
मान्छेका शरिरमा जुम्रा पर्नु त अशुभ रहेछ भने
देशनै जुम्राहरुले घेरीनु भनेको के हुनु रहेछ ? 

तस्वीरः निरोज महर्जन

यी पनि पढ्नुहोस्- 

-कमरेड काका ! [कविता]

-टंके दाईको कुकुर ! [कविता]

-सम्भावनाको सहरमा साहित्यको सुगन्ध

-गाउँलेहरु [कविता]

-साहरा [कविता]

-बाल मजदुर [कविता]



शनिबार, ०७ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...