रविको प्रस्ट कुराः ‘गरिबीले होइन गलाले आइडल बनायो’

बुलबुल नेपाल    

रविको प्रस्ट कुराः  ‘गरिबीले होइन गलाले आइडल बनायो’

काठमाडौं, पुष १२ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे।

 

उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्।

 

नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ?
अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ।

 

आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ?
सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियौं। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो।

 

विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ।

 

आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ?

एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो।

 

त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो।

 

आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन।

 

 गरिबी देखाएर भोट मागियो’, ‘जनतालाई इमोसनल ब्लकमेल’ गरियो’ भन्नेहरू पनि छन् ?

यी कुरा मैले पनि सुन्दै आइरहेको छु। तर, गरिबी देखाएर म नेपाल आइडलको विजेता बनेको होइन। मलाई गरिबीले होइन, गलाले आइडल बनायो। गरिबी मेरो वास्तविकता हो, यथार्थ हो।

 

मैले आफ्नो हरेक प्रस्तुतिमा बेस्ट दिने कोसिस गरेको छु। आज ‘गरिबी देखाएर भोट माग्यो’ भन्नेहरू भोलि रवि गरिबी होइन, कलाका कारण विजेता बनेको हो’ भनून् भन्ने कोसिस गर्नेछु। कडा मेहनत गरेर आफ्नो कलामा थप निखार ल्याउने प्रयास गर्नेछु।

 

आमा त फाइनल हेर्न काठमाडौं आउनुभएको थियो नि हैन ?
हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो।

 

कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



बिहिबार, १२ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...