शव नेपाल पठाएको दुई सातापछि रकम भुक्तानी

उमेश बन्जाडे    

शव नेपाल पठाएको दुई सातापछि रकम भुक्तानी

क्वालालम्पुर, पुस २७ । केही दिनअघि मलेसियामा निधन भएका एक युवकको शवलाई नेपाल पठाए वापतको रकम बिहीबार भुक्तानी गरिएको छ । ५ वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका-८ अरेसका नरबहादुर पुनको शव नेपाल पठाए वापत लागेको रकम सम्बन्धित निकाएलाई बिहीबार भुक्तानी गरिएको हो ।

 

मलेसियामै कार्यरत नेपाली एवं बंगलादेशी मजदुरको आर्थिक सहयोगमा रकम संकलन भएको थियो । मृतक पुन नेपालबाट आएको कम्पनीमा सम्झौता बमोजिम तलब सुविधा नपाएपछि अवैधानिकरुपमा काम गर्दै आएका थिए । अवैधानिकरुपमै कार्यरत रहेका बेला गत डिसेम्बर २२ मा उनको अकस्मात निधन भएको थियो ।

 

मलेसियामा अवैधानिक मजदुरमाथि आइपर्ने समस्याप्रति रोजगारदाता कम्पनी जवाफदेही नहुने हुँदा समस्या उत्पन्न भएको थियो । मृतक पुनका आफन्त नजिकमा नहुँदा शव अलपत्र जस्तै रहने र स्थानीयले अन्यत्रै फालिदिने चेतावनी दिएपछि त्यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुको सक्रियतामा शव नेपाल पठाउँदा लाग्ने खर्च बेहोर्ने प्रतिबद्धतापछि एकजना स्थानीय नागरिकको जिम्मेवारीमा शव नेपाल पठाइएको थियो ।

 

शव दुई साताअघि नै नेपाल पठाइएको भएपनि लागत रकम एक लाख ३ हजार ८ सय नेपाली रुपैयाँ बिहीबार मात्रै भुक्तानी गरिएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए।

 

आफ्नो गाँस कटाएरै भए पनि एउटा आपतमा परेको नेपाली परिवारलाई सहयोग गर्ने सम्पूर्ण नेपाली र बंगलादेशी मजदुरहरुलाई आर्थिक संकलन अभियानका संयोजक सन्दिप घर्तीमगर र समाजसेवी गंगा थापाले धन्यप्रति पनि आभार व्यक्त गरेका छन् ।



शुक्रबार, २७ पुष २०७५ मा प्रकाशित

Tags : #malesiya

प्रतिकृया दिनुहोस


Loading...