अभिभावक उदासिनले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कियोः मेयर वड

बुलबुल नेपाल    

अभिभावक उदासिनले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कियोः मेयर वड

कैलाली, माघ ११ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अभिभावकको उदासिनताले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउन नसकेको बताएका छन् ।

शुक्रबार उप–महानगरपालिकाको वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा साथी दौतरी शिक्षा सम्वन्धी तालिमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो बताएका हुन् । 

नगरप्रमुख वडले भने, ‘अभिभावकले विद्यालयमा आउने जाने र पठनपाठनको अबस्था बुझ्ने पनि गर्नुपछ । सामुदायिक विद्यालयको गुणस्तर खस्कीनुको पछाडी अभिभावको उदासिनता पनि हो ।’  

सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको भएपनि सोचे अनुरुप प्रतिफल आउन नसकेको मेयर वडले बताए । सिद्धनाथ माध्यमिक विद्यालयमा चालू आर्थिक बर्षमा मात्रै एक करोडको हाराहारीमा संरचना निर्माणका लागि सहयोग गरेको जानकारी गराए ।

धनगढी उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष गणेशप्रसाद जोशीले अभिभावकले आफ्ना छोराछोरी पढ्ने विद्यालयका लागि  समय निकाल्न अनुरोध गरे । सरकारी विद्यालयमा पढ्ने र निजी विद्यालयमा पढ्ने छोराछोरीमा घर भित्रैसमेत बिभेद रहेकाले यस्तो प्रवृति हटाउनु पर्नेमा उनले जोड दिए ।  

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजक राजेन्द्र रैकाले शिक्षकले गर्ने पढाईसंगै सहपाठी शिक्षण गर्न सकेमा पढाईमा गुणस्तर आउने बताए । साथी दौतरी शिक्षा विद्यालयमा मात्रै नभएर समुदायका लागिसमेत आवश्यक रहेको उनले बताए । 



शुक्रबार, ११ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...